रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिएका छन् ।
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ ।
सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिएका छन् । उनका अनुसार काठमाडाँैमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको छ । आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ ।
एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो सत्रमा बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस्रो सत्रमा मध्याह्न १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ ।
परीक्षाको मर्यादा उल्लङ्घन गर्ने परीक्षार्थीलाई सार्वजनिक अपराध मुद्दा चल्ने भएकाले मर्या्दित ढङ्गबाट परीक्षामा सहभागी हुन निर्देशक खनालले सबैमा आग्रह गरेका छन् । गत वर्षको परीक्षामा अमर्या्दित गतिविधि गरेको भन्दै सरकारले ५० परीक्षार्थीमाथि सार्वजनिक अपराध मुद्दामा कारवाही गरेको थियो ।
त्यस्तै शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्डविपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको निर्देशक खनालले जानकारी दिए । कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरुको दरखास्त रद्द गरिएको हो ।
सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० र उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।
सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।
भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित गरिनेछ ।