सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्विप नलाग्ने ब्याख्या गरिसकोले पनि नेपाल पक्षका सांसद्ले विश्वासको मत दिनेमा देउवा ढुक्क छन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुुक्त नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुुसार विश्वासको मत लिन लागेका हुन् । उनी गत असार २९ प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
आज विश्वासको मत पाउन देउवाले आफ्नो पक्षमा १३६ मत पुर्याउन पर्ने हुन्छ । २७५ सिट भएको प्रतिनिधि सभा बैठकमा ४ सांसद् निलम्बित भएकोले अहिले २७१ सिटको गणना हुने छ । जसमा एमाले १२१, कांग्रेस ६१, माओवादी केन्द्रका ४८, जसपा ३२, जनमोर्चाका १, नेमकिपा १ राजमो १ र राप्रपा १ सिट छन् । यि मध्ये कांग्रेस ६१, माओवादी केन्द्रका ४८, जसपाको उपेन्द्र यादव पक्षका १९ र जनमोर्चाका १ सांसद्को मत देउवालाइ जाने पक्का छ । उता सर्वोच्चमा रिट दिँदा हस्ताक्षर गरेका २३ एमाले सांसद्मा सबैले देउवालाई मत दिने सम्भावना कम छ । खास गरी एकता कार्यदलमा बसेका तथा दोस्रो तहका नेताहरुले देउवालाई विश्वासको मत दिन आँनाकानी गरिरहेका छन् । त्यसो त अब देउवाको लागि नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका ७ सांसद् साथ दिए पुग्छ । नेपाल र देउवाबीचको भेटमा विश्वासको मत दिने बचन नेपालले गरेकोले पनि देउवाले आजै विश्वासको मत लिन लागेका हुन् ।
सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्विप नलाग्ने ब्याख्या गरिसकोले पनि नेपाल पक्षका सांसद्ले विश्वासको मत दिनेमा देउवा ढुक्क छन् ।
तर फुटको संघारमा पुगेर कार्यदलमार्फत एकता कायम गर्न कसरत गरिरहेका एमालेका दोस्रो तहका नेताको मेहनत भने अब खेर जाने पक्का छ । आफूलाई सत्ताच्युत गराउन चलखेल गर्ने नेता नेपालसँग अध्यक्ष केपी शर्मा ओली रुष्ट छन् । बालुवाटार छोडेर बालकोट पुगेकै दिन ओलीले अब नेपालको लागि एमालेमा ठाउँ नभएको उद्घोष गरिसकेका छन् । यस्तोमा आज देउवालाई विश्वासको मत दिए नेकपा एमाले फुट्ने लगभग पक्का नै छ ।