साँच्चि नै सद्गुरूको पहिचान आफैं आफूलाई मात्र हुन सक्दछ । सर्वप्रथम सूर्यलाई हेर्नको लागि दिपकको अथवा कुनै पनि प्रकारको प्रकाशको आवश्यकता पर्र्दैन । जस्तै प्रकारले सूर्य उदय हुना साथ स्वाभाविक नै यो थाहा लाग्दछ कि सूर्य उदय भइसक्यो । उस्तै प्रकार जब मानव कल्याणार्थ कुनै सद्गुरूको उदय हुन्छ तब मानवको आत्माले स्वभावः नै यो जानी हाल्दछ कि उसलाई सच्चा सद्गुरूको साक्षात्कार भइसक्यो । सत्य त स्वयम् शिद्घ छ, सत्यको सत्यता शिद्घ गर्नको लागि कुनै पनि प्रमाणको आवश्यकता पर्दैन ।
सर्व वेदान्त सिद्घान्त गोचरं तमगोचरमं ।
गोविन्दं परमानदं सद्गुरुं प्रणतोज्यहम् ।।
सम्पूर्ण वेदहरूका सिद्घान्तलाई हृदयाकाशमा देखाउनेवाला, अज्ञान अन्धकारलाई दूर गर्नेवाला, परमानन्द स्वरुप सद्गुरूदेव श्री गोविन्द भगवानलाई म प्रणाम गर्दछु ।
सद्गुरुको महिमा अनन्त छ । शेष, महेश, गणेश, सुरेश, दिनेश, सुर, नर तथा मुनि पनि सद्गुरूको महिमाको पार पाउन सक्दैनन् । सद्गुरूको गुणको पारावार पाउन सकिँदैन । शास्त्रहरूको भनाई छ कि –
असित गिरिसम् स्यात कन्जलम् सिन्धु पात्रे
सुर तरुवर शाखा लेखनी पत्रमुवी ।
लिखती यदि गृहत्वा शारदा सर्वकालम्
तदपि गुण नामिष पारं न याति ।।
यदि सात समुन्द्रको मसि बनाएर जंगलका समस्त रुखहरूको कमल बनाएर समस्त धर्तिलाई कागज बनाएर विद्यादात्रि सरस्वतीले स्वयम् आफ्ना करकमलबाट अनन्त कालसम्म सद्गुरूको महिमा, गुण, महत्वको वर्णन गरेतापनि सद्गुरूको महिमा लेख्न सकिँदैन । त्यसैले गुरूको महिमा दर्शाउन महान् योगी, तपस्वि, प्रभू द्रष्टाले गुरुको चरणकमलमा बन्दना गरेको छ ।
गुरुर्ब्रह्मा, गुरुर्विष्णु, गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परंब्रह्म तस्मै श्री गुरूवेनमः ।।
अर्थात् गुरू नै ब्रह्मा हुन्, ब्रह्मालाई जन्मदाता भनिन्छ । गुरूले मानवको हृदयमा आत्मज्योतिको प्रत्यक्ष साक्षात्कार गराएर आत्मामा जन्म दिएर द्विज बनाई ब्रह्माको कार्य पूरा गर्नुहुन्छ । गुरू नै विष्णु हुन्, विष्णुलाई पालनहार मानिन्छ । गुरूले मानवलाई पवित्र नामको स्मरण गराएर जीवन जिउने कलाबाट पारंगत बनाई विष्णुको कार्य पूरा गर्नुहुन्छ ।
गुरू नै महेश्वर हुन्, महेश्वरलाई मृत्युदाता भनि मानिन्छ । गुरुले मानवभित्र रहेका सम्पूर्ण काम, क्रोध, लोभ, मोह तथा अंहकार रुपि महाशत्रुको नाश गर्न मानवको हृदयमा अनहदनाद अर्थात् मानवको स्व–स्वरुपमा नै शंख, घण्ट, बाँसुरी जस्ता अनन्त संगीत सुनाएर आफ्नो जन्मदाता जो आफुसँगै छन्, उहाँसँग परिचय प्राप्त गराएर मानवभित्र रहेका शत्रुको नाश गराएर विशुद्घ आत्मा जो परम प्रकाश, हजारौं सूर्यको प्रकाशभन्दा पनि बढी प्रकाशित छ, सोसँग मानवको तादात्म्य स्थापित गराएर निरन्तर अभ्यासको माध्यमबाट मृत्युमा विजय प्राप्त गर्न सकिने मार्ग प्रशस्त गरी महेश्वरको कार्य पूरा गर्नुहुन्छ ।
गुरूको महिमा गाउनै सकिँदैन, किनकि गुरु नै परब्रह्म नररुप हरी परमात्मा हुनुहुन्छ । सर्वप्रथम विचारणीय कुरो यो छ कि सन्तमहापुरुष तथा सद्ग्रन्थहरूमा जुन गुरूको महिमा यति गाएको छ उहाँ को हुनुहुुन्छ ? गुरू कसलाई भनिन्छ ? तथा जीवनमा गुरूको आवश्यकता किन छ ? त्यसै सन्दर्भमा धर्मशास्त्रमा उल्लेख गरिएको छ ः–
है ‘गु’ कार तम नाम ‘रू’ हरत करत प्रकाश ।
यहि गुरूका अर्थ है धर्म ग्रन्थ ईतिहास ।।
गुरू शब्दमा दुई अक्षर – वर्ण छन् । ‘गु’ र ‘रू’ विद्वानहरूको मत अनुसार ‘गु’ को अर्थ अज्ञान अथवा अन्धकार तथा ‘रू’ को तात्पर्य ज्ञान अथवा प्रकाश मानिएको छ । अर्थात् गुरू शब्दको शाब्दिक अर्थ जसले मानवको हृदयभित्र रहेको अज्ञान रुपी अन्धकारलाई मेटाएर आत्मारुपी भर्गोज्योति, परमप्रकाश, डिबाइसन लाइट तथा नुरको साक्षात्कार गराएर मानव जीवन सफल बनाइदिनुहुन्छ, त्यस्ता महापुरुषलाई सद्गुरू भनी शास्त्रमा वर्णन गरेको पाइन्छ । सन्त शिरोमणी तुलसीदासले गुरूलाई ‘कृपासिन्धु नररुप हरी’ भनेर गुरूको चरणकमलको बन्दना गरेको पाइन्छ –
बंदउँ गुरू पद कंज कृपा सिन्धु नररुप हरी ।
महामोह तम पुंज जासु वचन रवि कर निकर ।।
सद्गुरूका वचन सूर्यको किरण समान शिष्यको हृदयभित्र रहेको महामोह रुपी अज्ञान अन्धकारलाई दूर गर्छन् । जो कृपाका सागर तथा नररुपमा साक्षात् हरी (भगवान) हुनुहुन्छ ।
सद्गुरूको कृपाले नै अध्यात्मज्ञानको प्राप्ति तथा परमात्मामा शिष्यको स्थिति सम्भव छ । सद्गुरूको प्राप्ति विना मोक्षको बाटो पाउन सकिँदैन । त्यसैले संसाररुपी माया मोहलाई त्यागेर सच्चा सद्गुरूको खोजी गरेर उहाँको चरणकमललाई समाति हालौं । उहाँले आफ्नो शरणांगत भक्तलाई आफ्नो समान ज्ञानी बनाइदिनुहुन्छ । सद्गुरूले शिष्यलाई अनेक प्रकारले पोषित गर्नुहुन्छ ।
श्री सद्गुरूदेवले आफ्नो स्पर्शबाट, दृष्टिबाट तथा संकल्पबाट आफ्नो आध्यात्मिक शक्ति शिष्यभित्र सञ्चारित गरेर उसको अविद्या जनित अज्ञान–अन्धकारको हरण गरेर ज्ञानको प्रकाश प्रदान गर्नुहुन्छ ।
यथा पंक्षि स्वपक्षाभ्यां शिशुन् संवर्धयेच्छनैः ।
स्पर्शदीक्षोपदेशस्तु तादृशः कथितः प्रिये ।।
जस्तो प्रकारले पंक्षीहरूले आफ्ना पंखको स्पर्शले आफ्ना बच्चाहरूको लालनपालन तथा सम्वद्र्घन गर्दछन् । उस्तै प्रकार गुरूले पनि शिष्यलाई आफ्ना करकमलको स्पर्शबाट शिष्यको आध्यात्मिक पोषण तथा सम्बद्र्घन गर्नुहुन्छ ।
स्वापत्यानी यथा कूर्मि वीक्षणेनैव पोषयेत ।
दृग्दीक्षारव्योपदेशस्तु तादृशः कथितः प्रिये ।।
जस्तो प्रकारले कछुवाले आफ्नो बच्चाहरूको लालनपालन दृष्टिपात गरेर मात्र गर्दछ, त्यस्तै प्रकार सच्चा सद्गुरूले आफ्नो कृपा दृष्टि मात्रले शिष्यको आध्यात्मिक पोषण गरिदिनुहुन्छ ।
या मत्सि स्वतनयान् ध्यानमात्रेण पोषयेतर
वेधदीक्षोपदेशस्तु मनसः स्यात्तधाविधिः ।।
जस्ता प्रकारले माछाले आफ्नो बच्चाको लालनपालन ध्यानको माध्यबमबाट गर्दछन्, त्यस्तै प्रकार गुरूले मानसिक ध्यानद्वारा आफ्नो शिष्यको सर्वाङ्गिण विकास गरी परमपद् प्रदान गरिदिनुहुन्छ ।
यथार्थमा गुरू एक प्रज्वलित ज्योतिपूञ्ज हुनुहुन्छ । उहाँले शिष्यको हृदयलाई आफ्नो अलौकिक ज्ञान–प्रकाशबाट आलोकित गरिदिनुहुन्छ । जस्तो प्रकारले प्रज्ज्वलित दिपकको स्पर्शबाट बुझेको दिपक पनि जल्दछ, उस्तै प्रकार श्री सद्गुरूदेवको सानिध्यबाट शिष्यको आत्मज्योति पनि आलोकित भइहाल्दछ ।
साँच्चि नै सद्गुरूको पहिचान आफैं आफूलाई मात्र हुन सक्दछ । सर्वप्रथम सूर्यलाई हेर्नको लागि दिपकको अथवा कुनै पनि प्रकारको प्रकाशको आवश्यकता पर्र्दैन । जस्तै प्रकारले सूर्य उदय हुना साथ स्वाभाविक नै यो थाहा लाग्दछ कि सूर्य उदय भइसक्यो । उस्तै प्रकार जब मानव कल्याणार्थ कुनै सद्गुरूको उदय हुन्छ तब मानवको आत्माले स्वभावः नै यो जानी हाल्दछ कि उसलाई सच्चा सद्गुरूको साक्षात्कार भइसक्यो । सत्य त स्वयम् शिद्घ छ, सत्यको सत्यता शिद्घ गर्नको लागि कुनै पनि प्रमाणको आवश्यकता पर्दैन । सत्य त स्वतः प्रकाशित छ ।
भक्तिपूर्वक गुरूका उपदेशको अनुशरणले सत्य बस्तु आत्माको लाभ प्राप्त हुन्छ, ग्रन्थलाई पढेर आत्माको साक्षात्कार गर्न असम्भव छ । जबसम्म मानवले सच्चा सद्गुरूको प्राप्ति गर्दैन, तबसम्म चाहे उसले चारै दिशातिर घुमेर आएपनि अथवा हिमालय, पहाड पर्वत, गुफा अथवा सागरको फेदमा पनि किन न प्रवेश गरोस् तर मानवलाई आत्मज्ञान प्राप्त हुन सक्दैन ।
समयमा सच्चा सद्गुरूले मानवलाई अध्यात्म साधनाको, तत्वको, आत्मा परमात्माको दिक्षा प्रदान गर्नुहुन्छ तथा शिष्यले ग्रहण गर्दछन् । आत्मा दिक्षा प्राप्तिपछि साधकले अनवरत रुपमा साधना गर्दछन् । तब सद्गुरूले आफ्नो विशेष कृपाबाट शिष्यभित्र आफ्नो आध्यात्मिक शक्तिको सञ्चार गर्नुहुन्छ । तब साधक आफूभित्र आध्यात्मिक शक्तिको मात्र अनुभव नगरेर आफ्नो मूल लक्ष्य परमधामलाई सुगमतापूर्वक प्राप्त गर्न सक्दछ । रामचरित्र मानसमा उल्लेख गरिएको छ ः–
गुरू विनु भव निधि तरई न कोई ।
जौं विरंचि शंकर सम होई ।।
(रा.च.मा.उ.का.)
जप, तप, पूजा, पाठ, ब्रत उपवास आदि साधनहरू गरेपनि गुरूकृपा विना कसैले पनि भवसागरबाट पार जान सक्दैन । चाहे कोही ब्रह्मा समान सृष्टि रचना तथा शिव समान संहार गर्ने शक्ति किन न प्राप्त गरोस् तर पनि सद्गुरुको कृपा विना कसैले पनि संसारसागर अर्थात् मोक्ष प्राप्त गर्न सक्दैन । गुरू ग्रन्थमा उल्लेख गरिएको छ ः–
जे सउ चंदा उगवहि सुरज चडही हजार ।
एते चादन होदिआँ गुर विनु घोर अंधार ।।
(गु.ग्र.सा.प्र. ४६२)
भित्रको अन्धकारलाई मेटाएर हृदय आकाशमा प्रकाश गर्न सक्ने क्षमता राख्ने महापुरुषलाई सद्गुरू भनिन्छ । गुरूको ज्ञानमा यो शक्ति हुन्छ कि दानव प्रवृत्तिको मानव महामानव बन्दछ । देवता बन्दछ । यदि आकाशमा सयौं चन्द्रमा तथा हजारौं सूर्य एकसाथ उदय भएतापनि मानव को हृदयमा रहेको अज्ञानरुपी अन्धकार दूर हुन सक्दैन । हृदयको घोर अन्धकार सद्गुरूको ज्ञान प्रकाशबाट नै दूर हुन सक्दछ । त्यसैले हे भक्त समुदाय, समयका सच्चा सद्गुरूको चरणकमलमा आफ्नो जीवन समर्पण गर ।
वेदान्तानामनेकत्वात् संशयानां बहुत्वता ।
वेद्यस्याप्तिसूक्ष्मत्वान्न जानाती गुरु विना ।।
(हंशयोग प्रकाश)
वेदान्तहरू अनेक छन् तथा मानवको मनमा संशय–द्विविधा पनि अनेक छन् । जान्ने योग्य परमतत्व परमात्मा अत्यन्त सूक्ष्म छ । त्यसलाई सच्चा सद्गुरू विना कोही जान्न सक्दैन । साँच्चि नै आत्मज्ञान, बह्मज्ञान प्राप्ति तथा मुक्तिको लागि सद्गुरूको हुनु प्रत्येक मनुष्य प्राणीका लागि नितान्त आवश्यक छ । गुरू नै भक्तलाई संसार सागरबाट पार उतार्नमा सक्षम हुनुहुन्छ । ब्रह्मज्ञान, आत्मज्ञान, अध्यात्म तत्वका जिज्ञासुलाई समयका सच्चा ब्रह्मनिष्ठ सद्गुरूको सानिध्य प्राप्त गरेर उनको आत्म प्रशन्नताको लागि मान अपमानको त्याग गरेर सेवा गर्नुपर्छ । सद्गुरू नै अध्यात्म ज्ञानका दाता हुनुहुन्छ । शिष्यको सेवाबाट प्रशन्न भएर सद्गुरूले उसको हृदय मन्दिरमा नै सर्व व्यापक परमात्माको तत्वज्ञानको क्रियात्मक बोध गराइदिनुहुन्छ । वेद आदि शास्त्रहरूको अध्ययन, बाह्य पूजापाठ, तीर्थाटन ब्रत, नेम उपवास, तपस्या तथा अनेक प्रकारका बाह्य तथा भित्रि पूजापाठबाट परमात्माको प्राप्ति अर्थात् सद्गति सम्भव छैन । मुक्ति, सद्गति तथा परमात्मा प्राप्तिको लागि सद्गुरूदेवको परम आवश्यकता छ ।
संसारमा अनेक ढोंगी, नाना भेष बनाएर गुरू बनेर घुम्दछन् । उनीहरूले तन्त्रमन्त्र आदि बाह्य साधनबाट चमत्कार देखाएर आध्यात्मिक गुरूजस्तै जनसाधारणद्वारा मान्यता प्राप्त गर्दै रहन्छन् तथा सिधासादा साधकलाई ठगिरहेका हुन्छन्, यस्ता भेषधारी गुरुहरूबाट साधकलाई सदा सावधान रहनुपर्छ । आध्यात्मिक गुरूले बाह्य साधनहरूको माध्यमबाट ज्ञान दिनुहुन्न । अपितु साधकको हृदयभित्र परमात्म तत्वको बोध गराउनुहुन्छ । अर्थात् गुरू भन्दैमा गुरू हुँदैन । गुरू त स्वतः सिद्घ हुन्छन् ।
गुरू स्वयं परमात्माको स्वरुप हुनुहुन्छ । यस्तो गुरूलाई चिन्नको लागि यो जान्नु परम् आवश्यक छ कि गुरूबाट सत्य बस्तु, परमपिता परमात्माको प्राप्ति हुन सक्दछ या हुन सक्दैन । रामचरित्र मानसमा सन्त शिरोमणी तुलसीदास भन्नुहुन्छ ः–
गुरू शिष वधिर अंधका लेखा । एक न सुनई एक नहिं देखा ।।
हरई शिष्य धन सोम न हरई । सो गुर घोर नरक महुँ परई ।।
अज्ञानी भेषधारी गुरू तथा शिष्यको दशा अन्धा तथा बहिराको जस्तै हो । एक सुन्दैन तथा अर्को देख्दन । ढोंगी गुरूले शिष्यको धनको हरण त गर्दछ नै तर भवसागरबाट उतार्ने साधन बताउन सक्दैन । यस्ता गुरू घोर नरकमा जान्छन् । जब गुरू घोर नरकमा जान्छन् भने शिष्य कसरी भव सागर पार हुन सक्दछन् ? त्यसैले विद्वानहरूले भनेका छन् ः– गुरू गर्नु जानेर, पानी पिउनु छानेर
त्यसैले आफ्नो जीवनको नैया, बागडोर सच्चा सद्गुरूको हातमा अर्पण गर्नुपर्दछ । जसले हाम्रो जीवन रुपी डोरीलाई सहारा दिएर हाम्रो आत्मालाई परमधाम बैकुण्ठधाममा पु¥याउन सफल होेस् । समय बर्बाद नगरेर यस्ता सद्गुरूको खोजी गरेर उनको चरणकमलमा आफूलाई समर्पित गरेर सदाको लागि आत्मालाई मायाको बन्धनबाट मुक्त गरौं र सदा सत्–चित्त आनन्दमा आनन्दित रहँदै मानव जीवन सफल पारौं ।