नेपाल पहिलो पटक साफ च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
माल्दिभ्समा जारी तेह्रौं संस्करणको राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।
अब नेपालले फाइनलमा भारत र माल्दिभ्समध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । मालेस्थित राष्ट्रिय रंगशालामा अन्तिम समयमा बंगलादेशको एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो ।
खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुअग्रता दिलाएका थिए । ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए । १० खेलाडीमा झरेपछि कमजोर बनेको बंगलादेशको फाइदा उठाउँदै खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए ।
नेपाललाई फाइनल प्रवेशका लागि कम्तिमा पनि बराबरी चाहिन्थ्यो ।