शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले विजयी शुरुवात गरेको छ ।
शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले विजयी शुरुवात गरेको छ ।
आइतबार भएको खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले महत्वपूर्ण तीन अंकसहित खाता खोलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे भने सुरज गुरुङले एक गोल थपे । एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काए ।
खेलको ११ औं मिनेटमा दिनेशले करिब ३५ यार्डबाट फ्रिकिकमा सेकेण्ड बारमा गोल गरे । १७ औं मिनेटमा एपीएफका आभास लामिछानेको क्रसमा आशिषले वान टचमा गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । खेलको ६५ औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाए । ड्याडी जुनियरको पासमा उनले उत्कृष्ट गोल गरे । त्यसपछि खेलको ७७ औं मिनेटमा रबि थिङको पासमा बिकी तामाङले गोल गर्दै एपीएफलाई २–२ गोलको बराबरीमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३–२ को जित दिलाए । जितसँगै नयाँ सिजनको पहिलो खेलमा ब्रिगेडले महत्वपूर्ण ३ अंक जोडेको छ । आइतवार नै हुने दोस्रो खेलमा उपाधि दावेदार मनाङ मर्स्याङ्दीले जावलाखेल युथसंग प्रतिस्पर्धा गर्दैछ ।