मौन अवधिमा निर्वाचनमा उम्मेदवार बनेका तथा उनका समर्थक तथा अन्य सर्वसाधारण समेतले कुनै पनि किसिमको प्रचारप्रसार गर्न पाइदैन । साथै मौन अवधिमा नियमको पालना गर्नु हामी सबैको जिम्मेवारी हो
काठमाडौं । बैशाख ३० गते शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदै छ । ७५३ स्थानीय तहमा एकैसाथ हुने निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्न निर्वाचन आयोग र सरकार तथा सुरक्षा निकायले तदारुकताको साथ लागि परेको छ र आयोगले २७ गते मध्यरातदेखि मौन अवधि लागु हुने बताइसकेको छ ।
मौन अवधिमा निर्वाचनमा उम्मेदवार बनेका तथा उनका समर्थक तथा अन्य सर्वसाधारण समेतले कुनै पनि किसिमको प्रचारप्रसार गर्न पाइदैन । साथै मौन अवधिमा नियमको पालना गर्नु हामी सबैको जिम्मेवारी हो । यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने हुँदा यसबमोजिम आचरण पालन गर्न निर्वाचन आयोगले अनुरोध पनि गरेको छ।
तर हाम्रो राजनितिक संस्कार त्यति सुसंस्कृत छैन कि मौन अवधी भन्दैमा चुप लागेर बस्ने । यही मौन अवधी हो जसलाई नेताहरुले मौन रुपमै भरपूर दुरुपयोग गर्छन् । निर्वाचनको असन्तम घडीमा जित आफ्नो तर्फ पार्न हरसम्भव प्रयास सबैले गर्छन् । साम दाम दण्ड भेद सबैले प्रयोग गर्न कोही पछि पर्दैैनन् । किनकी यो नेपाली राजनिति हो । मौन अवधिमा झन् धेरै भोट किन्ने र बिक्ने गरेको तथ्यांक विगतले पनि दिएको छ । यो यसपटक नदोहोपरएला भन्न सकिँदैन । झन् यस पटक पाँच दलीय गठबन्धन र विपक्षीमा एकल एमाले तथा साना पार्टी छन् । साना पार्टीका त कुरो नगरौं प्रमुख विपक्षी दल नेकपा एमाले र गठबन्धनको बीचमा मतदाता पिल्सिएका छन् । दुबै पक्षले न्वरानदेखिको बल लगाएर निर्वाचन प्रसारमा व्यस्त छन् । स्थानीय तहको निर्वाचन भएपनि पार्टी प्रमुखसहति केन्द्रिय नेताहरुसमेत भोट माग्न घर घर पुगेका छन् ।
भोट किन्ने प्रवृति नेपाली राजनितिक दलमा पुरानै हो ।खासगरी मौन अवधिमा यसको बढी चलखेल हुने गरेको देखिन्छ । जनतालाई झुटो आश्वासन मात्रले मन जित्न नसक्ने भएपछि आर्थिक प्रलोभनमा पार्ने काम यही मौन अवधिमा हुने गरेको पाइएको छ । तर जनताले पनि सचेत भएर आफ्नो विवेकको प्रयोग गरी मतदान गर्नुपर्छ । चुनाव अगाडी नै प्रलोभनमा परेर पैसा बाड्ने नेताले चुनाव जितेपछि भ्रष्टाचार नगर्ला भन्न सकिँदैन। त्यसैले हाम्रा वा हाम्रा पार्टीका भन्दै जो पायो त्यसलाई भिजन नै नभएका उम्मेदवारलाई मत दिनु भन्दा राम्रा र विकासप्रेमी उम्मेदवार छानेर उनीहरुको भिजन हेरेर मात्र मत खसाल्नु पर्छ ।
मौनअवधि उम्मेदवारको लागि सकसको अवधी हो। यस समयमा उनीले मत माग्न पाउँदैनन् । तर जनताको लागि भने यो समय उम्मेदवारबारे विचार विमर्श गर्ने समय हो। त्यसैले यस अवधीममा सोचविचार गरि भोट कस्लाई दिने तय गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले मौन अवधीमा लागु हुने गरी आचारसंहिता नै निकालेको छ। त्यसको अनु्गमन गर्नका लागि पनि अनुगमन टोली आयोगले परिचालन गरेको छ । आचारसंंहिता उल्लघंन भएमा आयोगले जोसुकै भएपनि तत्कालै कारबाही गर्न सक्छ । जनताले पनि यस अवधीमा आचारसंहिताको पालना भएनभएको अनुगमन गर्न सक्छन् र आयोगलाई कुनै पनि बेला सूचना दिन सक्छन् ।
स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्न हामी सबैले आचारसंहितको पूर्ण र कडाईका साथ पालना गरौं ।