तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ ।
काठमाडाैं । तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ ।
बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ । तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ‘अपवाद हो, अन्यत्र देखिन्न’ भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रास बढेको छ ।
काठमाडौं उपत्यकामा बुधबार थप तीन जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।
काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको र अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा सोही रोग देखिएको हो ।कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा। चुमनलाल दासले बताउनुभयो । ‘हामीले अनुसन्धानका लागि टोली खटाइसकेका छौं, टोलीले रोगको कारण पत्ता लगाउन दूषित पानी र खानालगायतको गुणस्तरको मापन गरिरहेको छ’, उहाँले भन्नुभयो– ‘थप हैजा फैलन नदिन सचेत गराउँदै छौं ।’
यसअघि काठमाडौंको बागबजारमा बसोबास गर्ने एकै परिवारका दुई जनामा हैजाको संक्रमण पुष्टि भएको थियो । हाल उनीहरू आईसीयूमा रहेको र स्वास्थ्यमा सुधार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनले जानकारी दिनुभयो ।अहिले के कारणले हैजा फैलिएको यकिन भन्न नसकिने डा। पुनको भनाइ छ । तथापि, रोगको प्रकोप झन् बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।
हैजा कोलेरा नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ । यो ब्याक्टेरिया रहेको दूषित खानेकुरा खाँदा वा पानी पिउँदा संक्रमण हुन्छ । डा। पुनका अनुसार हैजा लाग्दा चौलानी पानीजस्तो दिसा आउने, लगातार वान्ता हुने, थकाइ लाग्ने, मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् । यस्तो लक्षण देखिनासाथ वा कडा खालको हैजा देखिए तुरुन्तै अस्पताल जानुपर्ने उहाँको सल्लाह छ, ‘वान्ता हुने, सामान्य लक्षण देखिए घरमै जीवनजल पानी खाइराख्ने, झोलिलो खानेकुरा खाने गर्नुपर्छ, सामान्य लक्षणमै हतार–हतार अस्पताल नदौडिन मेरो सुझाव छ ।’
आजको नेपाल समाचार पत्रमा खबर छ ।